काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ । प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकोले हिमपातको सम्भावना रहेकाले पदयात्रीलाई सो आग्रह गरेको हो ।
अन्नपूर्ण आधार शिविर (एविसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमईलगायत क्षेत्रमा पदयात्रामा नजानका लागि सार्वजनिक सूचनामार्फत सचेत गराइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकोले जीउज्यानको सुरक्षालाई ध्यान दिएर ‘ट्रेकिङ’का लागि पदयात्रा क्षेत्रका कुनै पनि स्थानमा ननिस्कन आग्रह गर्नुभयो । दशैंको बिदामा विगतका वर्षहरूमा यहाँका पदयात्रा क्षेत्रमा पदयात्रीहरूको भीड लाग्ने गरेको थियो । यस वर्ष प्रशासनले भारी वर्षा तथा हिमपातको पूर्वानुमानसहित पदयात्रामा नजान अनुरोध गरेपछि पर्यटन क्षेत्र प्रभावित बनेको छ ।



यसैगरी प्रशासनले वर्षाका कारण बाढीपहिरो, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन तथा घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी एकाइ, सुरक्षा निकायमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।



