हुम्लाको पहाडैपाखा पार गर्दै चुवाखोला पुग्दा मौसम चिसो थियो, तर वातावरणमा उत्साहको कुनै कमि थिएन। प्रधानमन्त्रीको हैसियतले होइन, नेताको जिम्मेवारी बोकेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जब खार्पुनाथको खार्पुदोभान झरे, त्यहाँको भीडले देखाउँथ्यो—मानिसहरू बाटो जोडिएको खुसी सँगै आशा बोकेर आएका थिए। त्यही दिन ओलीले चुवाखोला बेलिब्रिजको उद्घाटन गरे, जुन पुल सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण कडी हो। उद्घाटनपछि ओलीले हिल्सा नाकामा एलसी प्रणालीसहितको क्वारेन्टाइन केन्द्र निर्माण गरिने स्पष्ट घोषणा गरे।
“हुम्लाको विकास चीनसँगको व्यापारमार्फत अघि बढाउन सकिन्छ,” ओलीले भने, “हिल्सा नाका त्यो सम्भावनाको मूल ढोका हो, त्यसैले क्वारेन्टाइन जति सक्दो छिटो बनाइन्छ।”

सडक जोडिएपछि सिमकोटको अनुहार उज्यालो
हुम्ला यस्तो जिल्ला हो, जहाँ वर्षौंसम्म सडक सपना जस्तै थियो। अब त्यो सपना बिस्तारै हकीकतमा बदलिएको छ। सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको खबरले त्यहाँका स्थानीयको अनुहारमा जुन चमक देखिन्थ्यो, त्यो सहजै बुझ्न सकिन्थ्यो। ओलीले आफैँ पनि त्यो खुसी बाँडे। “म आफैँ पनि धेरै खुसी छु,” उनले भने, “अब यहाँका नागरिक सडकमार्फत देशका अरू भागमा सहजै पुग्न सक्छन्। शिक्षादेखि उपचारसम्म पहुँच बढ्छ।”

सडकको काम नेपाली सेनाले गरेकोमा उनले प्रशंसा पनि गरे। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीमार्फत हुम्लाका नेताहरूको संयुक्त ज्ञापनपत्र पाएपछि आफूले सेना परिचालन गरेर काम अघि बढाएको उल्लेख गरे।

‘हुम्लालाई जोड्ने सपना पूरा हुँदैछ’
ओलीले आफू परराष्ट्रमन्त्री हुँदा नै हिल्सा र सिमकोट जोड्न पहल गरेको प्रसङ्ग पनि सुनाए। “त्यतिखेर मैले थालनी गरेको काम अहिले आएर राष्ट्रिय सडक सञ्जालसँग हुम्ला जोडिएको देख्दा गर्व लाग्छ,” उनले भने। कार्यक्रममा सहभागी स्थानीयबासीको आशा अहिले सडक र पूर्वाधारमा जोडिएको छ। धेरैले भने—“अब सामान ल्याउन सजिलो हुनेछ, बिरामी बोक्न सजिलो हुनेछ, हामीलाई देशजोडिएको महसुस भएको छ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय