हुम्लाको सर्केगाड गाउँपालिका–१ को वडा कार्यालयमा स्थानीयले दुई दिनदेखि तालाबन्दी गरेका छन् । माझ गाउँमा रहेको सिर्जनशील प्रावि डिल गाउँमा रहेको बिहानी प्राविसँग समायोजन (गाभ्ने) निर्णय गाउँपालिकाले गरेसँगै माझ गाउँवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । स्थानीयले विद्यालय समायोजन (गाभ्ने) गाउँपालिकाले गरेको निर्णय सच्याउनु पर्ने भन्दै मंगलबार लगाएको ताला आज पनि यथावत रहेको छ ।
सिर्जनशील प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपलाल रावतले गाउँपालिका र वडाले आफूहरुसँग कुनै समन्वय तथा जानकारी नगरी एकलौटी विद्यालय समायोजन गरेको भन्दै विरोध गरेको बताउँछन् । माझ गाउँका लागि २०६८ सालमा स्थापना भएको विद्यालय कुनै पनि हालतमा समायोजन गर्न नदिन यहाँका अधिकांश अभिभावक लागि परेका छन् ।



वडाध्यक्ष बलबहादुर कार्कीले विद्यालय समायोजन निर्णयविरुद्ध अभिभावकहरुले गरेको आन्दोलनको कारण दुई दिनदेखि वडाको सम्पूर्ण कामकाज ठप्प भएको बताउनु हुन्छ ।
सिर्जनशील प्राविमा अध्ययनरत ५२ विद्यार्थीमध्ये २७ विद्यार्थी बिहानीमा अध्ययन गर्दै आएको र बाँकी २५ जना विद्यार्थी भएकोले सबैलाई पायक पर्ने हुँदा विद्यालय समायोजन गरिएको वडाध्यक्ष कार्कीले बताउँछन् ।



