“गाडी चढ्ने त सपना मात्रै थियो,” हुम्लाकी ७० वर्षीया आमा भावुक हुँदै भन्छिन्, “अब त घरआँगनमै गाडी आउँछ रे!” दशकौँदेखि पैदल बोक्ने पीडा भोगेका हुम्लावासीका लागि अब त्यो दुःखको दिन इतिहास बन्दैछ। नेपाली सेनाको प्रयासमा निर्माण भएको चुवाखोला बेलिब्रिजसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। यही आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुलको औपचारिक उद्घाटन गर्दै छन्।

कर्णाली करिडोरमार्फत अब भारतको रूपेडियाबाट चीनको हिल्सासम्म एउटै गाडीमा यात्रा सम्भव भएको छ। करिब ५१८ किलोमिटर दूरीमा फैलिएको यो मार्गले नेपाल, भारत र चीनबीचको यातायात, व्यापार र पर्यटनको ढोका खोलिदिएको छ।

नेपाली सेनाले कठिन भूगोलका बाबजुद ४ करोडको लागतमा ३५ दिनमै पुल निर्माण गर्‍यो। यसले न केवल हुम्लाको यातायात सपना पूरा गर्‍यो, तर कर्णालीवासीको भविष्यप्रतिको विश्वास पनि उज्यालो बनायो।

सडक निर्माणसँगै स्थानीय उत्पादनको बजारीकरण, रोजगारीको अवसर र सेवा सुविधाको पहुँच बढ्ने आशा गरिएको छ।

कर्णाली प्रदेश योजना आयोगका पूर्वसदस्य डा. दीपेन्द्र रोकायाले भने, “यो सडकले केवल हुम्लालाई सडकले जोडेको होइन, अवसर र सम्भावनासँग जोडेको छ।”

आज सुदूर हुम्लामा गाडीको आवाज गुन्जिँदा, आँखा रसाउनेहरू थुप्रै छन्—सपनाले सार्थकता पाएको ऐतिहासिक क्षण हो यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय