मकवानपुर- हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक मकवानपुरको थाहा नगरपालिका–३ चित्लाङ निवासी ४१ वर्षीय आश्मान गोपाली रहेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आइतबार बिहान मृत अवस्थामा फेला परेका गोपालीको शव नजिकै ठूलो मात्रामा रगत देखिएको प्रहरीले जनाएको छ। घटनास्थलको अवस्था शंकास्पद देखिएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार घटनापछि मृतकसँगै रहेकी भनिएकी एक महिला सम्पर्कविहीन भएकी छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थललाई नियन्त्रणमा लिएर प्रमाण संकलन, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा अन्य अनुसन्धान भइरहेको छ।

अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालय केनाइन शाखाबाट ट्रयाकर डगसहितको टोलीसमेत परिचालन गरिएको छ। प्रहरीले मृत्युको कारण, घटनाको प्रकृति र सम्भावित संलग्नताबारे अनुसन्धान जारी रहेको जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय