राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको विधान संशोधनदेखि संगठन सुदृढीकरणसम्मका विषयमा चर्चा गर्न भन्दै आयोजना गरेको राष्ट्रिय भेला पार्टी सभापति रवि लामिछानेको स्तुति गान र उत्सवमा सीमित भएको छ । प्रज्ञा भवन कमलादीमा भएको भेलामा पार्टीको विधान संशोधन प्रस्ताव तथा नीति–विचारलगायतका प्रतिवेदन पेश भए पनि मुलतः सभापति लामिछानेको क्लिन चिटदेखि क्लिन चिटसम्मकै चर्चामा भेला केन्द्रित बन्यो । सहकारी अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनलाई आफू अनुकुल व्याख्या गर्नु भेलामा आएका प्रतिनिधिहरुको जिम्मेवारी बन्यो ।

विश्वभर एउटा लोकप्रिय भनाइ छ, ‘हे ईश्वर मलाई मित्रबाट जोगाउ, शत्रुबाट म आफै जोगिन्छु ।’ फ्रान्सेली लेखक तथा इतिहासकार भोल्टेयरको यो भनाइ अचेल अलि चलाख वक्ताहरुले आफ्नै भनाइका रुपमा प्रस्तुत गरिरहन्छन् । जस्तो कि पार्टीको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई विजयोत्सव बनाइरहेका र मनाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भन्नुभयो, मलाई पार्टी भित्रकाबाट जोगाउ, पार्टी बाहिरकासँग म आफै लड्छु ।

सहकारी ठगी प्रकरणको संसदीय छानबिन प्रतिवेदन सार्वजनिक भएपछि लामिछानेले आफूले शत्रुहरुसँग जित हासिल गरेको दाबी गर्दै पार्टी भित्रैबाट चाँहि आफूमाथि खतरा हुन सक्ने संकेत गर्नुभएको हो ।पार्टीभित्र अप्ठेरोमा पर्न थालेको आभाष हुने गरी अभिव्यक्ति दिएपछि राष्ट्रिय भेलाका लागि काठमाडौं आइपुगेका कार्यकर्ताले अहिले सभापतिलाई ढाडस दिन निरन्तर स्तुति गान गाइरहनु परेको छ । पार्टीका केन्द्रीय पदाधिकारीदेखि प्रतिनिधिहरुसमेत सभापतिको विजयोत्सवसहित शंका निवारणका लागि खुलेर ‘क्लिन चिट’ चर्चा चलाइरहेका छन् ।

राष्ट्रिय भेला विधान संशोधनदेखि पार्टीको विचार निर्माणका लागि सुझाव लिन आयोजना गरिएको थियो । तर संयोग, कार्यकर्ता काठमाडौं आइपुगेका बेला संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भयो । प्रतिवेदनमा आफ्ना सभापति लामिछानेलाई कारबाही सिफारिस गरेर संसदमा पुगेका नेता शिशिर खनालले भनिदिनुभयो, सभापतिले क्लिनचिट पाउनुभयो । कागजमार्फत् कारबाही सिफारिस गरेर, बोलीमार्फत् क्लिन चिटको चर्चा चलाइरहेका खनाल पार्टी प्रतिनिधिहरुलाई त्यही उधारो आश्वासन बाँढीरहनु भएको छ, ‘सभापति लामिछाने कारबाहीमा पर्नुहुन्न ।’

मञ्चमा आसिन पार्टी सभापतिदेखि पार्टीका सांसदसम्मले विजयको गीत गाइरहँदा सम्भवत कार्यकर्ताहरु एकतारेको धुन सम्झिएर नतमस्तक छन् । उनीहरुले बिर्सिसके, भेला किन बोलाइएको थियो, विधान, विचार वा नीति के हो ? कहाँ सबल छ, कहाँ अलमल छ । छ, त केबल विजयको गीत ।

छानबिन समितिको प्रतिवेदनले लामिछानेलाई क्लिन चिट दिएको कतै उल्लेख गरेको छैन । सामाजिक सञ्जालहरुमा छरपस्ट भइसकेका छन् कारबाही सिफारिसका बुँदा । तर जान्नेलाई छान्ने पार्टीका मान्ने सांसददेखि कार्यकर्ताहरु दुई दिनसम्म न विचारमा केन्द्रित भएर छलफलमा जुटे न विधानमा केन्द्रित भएर । केवल कारबाहीको सिफारिस पो हो कि भन्ने चिन्ता लिँदै उत्सव मनाइरहेका छन् । त्यसमाथि सभापतिले सुरुमै पार्टी बाहिरकासँग लड्छु भित्रकासँग बचाउ भनेर गुहार मागेपछि असमन्जस्यता त रहने नै भयो । तर पार्टीको नयाँ विचार बोकेर फर्किने गरी काठमाडौंमा आइपुगेका प्रतिनिधिहरु भने लामिछाने जिन्दावादको नारा मात्र लिएर फर्किने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय