बर्दिया राष्ट्रिय निकुञ्जले आफ्नो गोही संरक्षण अभियानअन्तर्गत १० वटा घडियाल गोही प्राकृतिक बासस्थानमा छाडेको छ ।‎राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धिसागर पौडेल र वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी पुरनभक्त घलेसहितको संयुक्त टोलीले ती गोहीलाई निकुञ्जभित्र कट्टास भन्ने स्थानमा पर्ने खौराहा खोलामा छाडेका हुन् ।

‎गोहीहरू बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारास्थित घडियाल प्रजनन केन्द्रमा हुर्किएका हुन् । निकुञ्जका सूचना अधिकारी तथा वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार छाडिएका घडियाल गोहीमध्ये पाँच भाले र पाँच पोथी रहेका छन् । ती गोही ३ देखि ८ वर्ष उमेरका रहेका उनले बताए । हाल प्रजनन केन्द्रमा करिब २१० वटा गोही छन् — जसमा १४० ठूला र ७० साना रहेका छन् ।

‎२०३९ सालमा स्थापना गरिएको घडियाल प्रजनन केन्द्रमा २०७२ सालदेखि प्रजनन प्रक्रिया सुरु गरिएको हो । २०७४ सालमा पहिलो पटक गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको थियो । त्यसयता बर्दियाको बबई नदीमा १३ र बाँकेको राप्ती नदीमा १० गरी हालसम्म २३ वटा गोही बच्चा प्राकृतिक बासस्थानमा पुनःस्थापना गरिएको छ। हाल प्रजनन केन्द्रमा २ भाले र ४ पोथी गरी ६ वटा प्रजनन योग्य घडियाल गोही रहेका छन् ।

‎घडियाल गोही स्वच्छ पानीमा बस्ने र ताजा माछा खाने वन्यजन्तु हो। सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घडियाल गोहीलाई संरक्षित जनावरको सूचीमा सूचीकृत गरेको छ। ‎बर्दिया राष्ट्रिय निकुञ्जले गोही संरक्षणका लागि बासस्थान व्यवस्थापन, चोरी–शिकार नियन्त्रण र प्राकृतिक वासस्थान पुनःस्थापना जस्ता कार्यहरूलाई निरन्तरता दिइरहेको जनाएको छ । बर्दियाका कर्णाली र बबई नदी क्षेत्रमा स्वाभाविक रूपमा घडियाल गोही पाइने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय