काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले ११५ थान बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी मातहत रहेका इलाका प्रहरी कार्यालयबाट उक्त संख्यामा बन्दुक बरामद गरेको हो ।
आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जंगलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियान चलएको थियो ।
प्रहरी कार्यालयले ४० दिनको अवधिमा अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँले सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट ६६ थान, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वडा भरुवा बन्दुक बरामद भएको छ ।



ढोरपाटन सिकार आरक्ष आसपास, विभिन्न सामुदायिक वनहरूमा चोरी–सिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामा समते भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजत पत्र नलिइकन लुकाई छिपाई राखिएका भरुवा बन्दुकलाई संकलन गरी बरामद गरिएको उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका एकाइबाट भएका गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जंगल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको प्रहरी उपरीक्षक भारतीले बताउनुभयो ।
उहाँका अनुसार बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीय स्तरमै बनाइएको र चालु अवस्थामै रहेको भेटिएको छ ।
इजाजत पत्र नलिइकन भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।



