काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ११ किलो सुन तस्करी प्रकरणमा थप एक जनालाइ पक्राउ गरेको छ । सीआईबी ले चीनको तिब्बत स्थायी ठेगाना भएका तासी दावा भनिने आगर लामालाई पक्राउ गरेको हो । काठमाडौँको स्वयम्भूबाट पक्राउ परेका लामाकै निर्देशनमा सुन तस्करी भएको प्रहरीको दावी छ । उनी नै सुन मालिक हुन् या अरु नै छन् भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । दोलखाको सिंगटी र लामाबगरबाट पटक पटक गरि बरामद गरिएको ११ किलो सुन भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट तस्करी भएको थियो ।



पहिलो पटक असोज ११ मा सिंगटीमा ४ किलो ,त्यसपछि बिगु गाउँपालिका–३ सिंगटीबाट ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको थियो ।तस्कर समूहले दोलखा र तिब्बत आउजाउ गर्ने ‘फलेक बोर्डर’ स्थित खोलामा चीनतर्फबाट डोरीले बाँधेर सुन खोलावारी फाल्ने र नेपाल तर्फका प्रतिनिधिले त्यहाँबाट काठमाडौँ पठाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।११ किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म चीनियाँ नागरिक गेङ रोउ,सनत प्रधान, लाल बहादुर तामाङ, दोलखाका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ र चसमान तामाङ उर्फ च्याङ्बा पक्राउ परेका छन ।



