काठमाडौं । संघीय संसद अन्तरगत विभिन्न विषयगत समितिका सभापतिहरुको निर्वाचनको लागि मनोनयन पत्रको सूची सार्वजनिक भएको छ । प्रतिनिधि सभाका ११ वटा विषयगत समिति मध्ये २ वटा विषयगत समितिमा मात्र निर्वाचन हुने भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेपछि सो पदको लागि सोमबार मतदान हुने भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलहरूबीच सभापतिमा भागवण्डा भएकाले त्यसअनुसार नै उम्मेदवारी परेको थियो । नेकपा एमालेका ऋषिकेश पोखरेल सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता भएको छ भने एमालेकै किरण साहले महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट आरजु राणा देउवा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समिति र सन्तोष चालिसे अर्थ समितिको सभापतिमा उम्मेदवारी परेको छ । यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदीको मात्र उम्मेदवारी परेको छ । माओवादीकै भागमा परेको पूर्वाधार विकास समितिको सभापतिमा भने राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दिएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादवको तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशीले उम्मेदवारी दिएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाएको थियो ।

विषयगत समितिहरुको सभापतिको लागि संघीय संसदले २०८० भाद्र ७ गते उम्मेदवारी दिन भनि सूचना प्रकाशित गरेको थियो ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय