झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने ७२३ मिटर लामो कन्काई पुलको ठेक्का अन्ततः तोडिएको छ। हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल १४ वर्षदेखि अलपत्र अवस्थामा थियो। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले पप्पु–महादेवखिम्ती जेभीसँग गरिएको ठेक्का सम्झौता रद्द गरेको सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले गत असोजमा निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको थियो तर जवाफ चित्तबुझ्दो नदेखिएपछि सार्वजनिक खरिद कानूनअनुसार ठेक्का तोडिएको हो।

यो पुल २०६८ जेठ ३१ गते ‘डिजाइन एन्ड बिल्ड’ ढाँचामा सम्झौता गरी निर्माण सुरु गरिएको थियो। २०७२ जेठ ३० भित्र काम सम्पन्न गर्ने लक्ष्य भए पनि पाँच पटक म्याद थप्दा पनि हालसम्म करिब ५६ प्रतिशत मात्र काम पूरा भएको छ। करसहित ३४ करोड ९ लाख रुपैयाँ लागत रहेको यो आयोजनामा निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत पनि जफत गरिने कार्यालय प्रमुख युवराज पोखरेलले जानकारी दिएका छन्।

हाल पुलका १९ स्पानमध्ये ८ वटा मात्रै सम्पन्न भएका छन्। बाँकीमध्ये केही स्थानमा गर्डर र जग हालिएको भए पनि अझै ३ वटा स्पानको जग हाल्न बाँकी छ। गत असोजमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पुलको निरीक्षण गरेपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय