काठमाडौं । १७ दलका १ सय ७५ जनाले समानुपातिक सूचीबाट उम्मेदवारी फिर्ता लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका ११० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जनता समाजवादी पार्टी नेपालसँग एकता भइसकेकाले लोसपाका तर्फबाट परेका उम्मेदवार फिर्ता लिएका हुन् । जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना, जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)  र राष्ट्र निर्माण दल नेपालका ४–४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का २–२ तथा गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक पार्टी १ र संयुक्त नागरिक पार्टीका १–१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित दललाई भनेको छ । आयोगले नयाँ आएका नाम समेत समावेश गरेर माघ ४ गते बन्दसूचीको नामावली प्रकाशित गर्नेछ ।

प्रकाशित नाममाथि दाबी विरोधका लागि माघ ५ गते देखि माघ १० गतेसम्मको समय रहनेछ । दाबी विरोधको उजुरीमाथि माघ ११ देखि १७ गतेसम्म निर्वाचन आयोगले अध्ययन गर्नेछ । सूचीमा कसैको नाम हटाउनुपरे माघ १९ गते निर्वाचन आयोगले सूचना प्रकाशन गर्ने कार्यतालिका छ । माघ २० माघमा समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ मा हुँदैछ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभाका लागि समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् । १६५ जना प्रत्यक्ष चुनाव जितेर आउँछन् । प्रत्यक्ष तर्फको मनोनयन दर्ता भने आगामी माघ ६ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय