काठमाडौं । १८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने छ ।
प्रदर्शनीको उद्घाटनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवद्र्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने बताएका छन् ।
नेपाल सरकारले लागू गरेको बीउबिजन नियमावलीका आधारमा आलंकारिक बिरुवाहरूलाई दर्ता गर्ने कार्यलाई अगाडि बढाइएको जानकारी गराउँदै डा. शर्माले नेपाली पुष्प व्यवसायको विकास र विस्तारका लागि अवैधानिक रूपमा आउने फूललाई रोकेर देशभित्रका पुष्प व्यवसायीहरूलाई प्रोत्साहन गर्न व्यवसायीहरूले नै सहयोग गर्नुपर्नेमा जोड समेत दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पुष्प व्यवसायको प्रवद्र्धनका लागि बीउबिजनको विकास र प्रदर्शनीका लागि सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले प्रदर्शनीले पुष्प व्यवसायको प्रवद्र्धनका साथै रोजगारीमा समेत महत्वपूर्ण योगदान दिने धारणा राखेका थिए । फ्लोरिकल्चर एसोसिएनि नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायको विकास र प्रवद्र्धनका लागि हरेक वर्ष लगातार रूपमा प्रतियोगितात्मक प्रदर्शनी गर्दै आइरहेको जानकारी दिएका थिए ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९० वटा स्टल रहेका छन् । प्रदर्शनीमा ४० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।






