काठमाडौंको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सुन्धाराको करिब २५ वर्षदेखि थुनिएको निकास खोलिएको छ। लामो समयदेखि अव्यवस्थित शहरी विकास, ढल व्यवस्थापनको कमजोरी र संरचनात्मक अतिक्रमणका कारण धाराको प्राकृतिक निकास बन्द हुँदा पानीको प्रवाह र मौलिक स्वरुप दुवै प्रभावित हुँदै आएको थियो।

वडाको पहलमा हाल निकास खुलाइएसँगै धाराको संरक्षण र पुनरुत्थानको काम अगाडि बढाइएको छ। वडाध्यक्ष संगतले ‘एउटा काम गर्दा अर्को संरचना नष्ट गर्ने गलत विकास प्रणालीका कारण धेरै ऐतिहासिक धरोहर बिग्रिएका छन्, अब तिनलाई जोगाउँदै सपार्ने प्रयासमा छौँ’ भन्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार सुन्धारालाई प्राचीन स्वरुपमै फर्काउने गरी चरणबद्ध योजना बनाइएको छ।

धार्मिक विश्वासअनुसार यस धारामा गणेश र भैरवलाई द्वारपाल राखेर जयवागेश्वरी माताले स्नान गर्ने गरेको जनविश्वास छ। अहिले पनि माताको चरण पखाल्न तथा यस क्षेत्रका धार्मिक अनुष्ठानमा यही धाराको शुद्ध जल प्रयोग गर्ने परम्परा कायम छ। निकास खुलाइएसँगै पानीको गुणस्तर र निरन्तरता सुधार हुने अपेक्षा गरिएको छ। स्थानीयवासी र धार्मिक संघसंस्थाले सुन्धाराको संरक्षणमा दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्। सुन्धाराको पुनरुत्थानले धार्मिक आस्था, सांस्कृतिक पहिचान र ऐतिहासिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय