काठमाडौं । २५ सय ७० औँ बुद्ध जयन्तीको अवसर पारेर चन्द्रागिरि नगरपालिकाको थानकोट–४ स्थित जितवन बौद्ध विहारमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विहारको मुख्य आयोजनामा तथा मेट्रो काठमाडौं अस्पतालको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा विहारका उपासक, स्थानीय बासिन्दा, जनप्रतिनिधि र विभिन्न क्षेत्रका स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो ।

बुद्धको शान्ति, करुणा र मानवसेवाको सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजित यस कार्यक्रमले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ । बिहान साढे ७ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम ११ बजेसम्म सञ्चालन भएको थियो । जसमा उल्लेख्य संख्यामा रक्तदाताहरू सहभागी भएका थिए । सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानव जीवन बचाउने अभियानमा योगदान पु¥याएका थिए ।

विहारका अध्यक्ष अशोक भण्टेले बुद्ध जयन्तीलाई केवल धार्मिक रूपमा मात्र नभई सामाजिक सेवा र मानव कल्याणसँग जोडेर मनाउनु पर्ने धारणा व्यक्त गरे । उनले यस्तो कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्दै सहभागी सबैप्रति आभार प्रकट गरे ।

कार्यक्रमका संयोजक ईश्वर लामाले नेपालमा अझै पनि रगत अभावका कारण धेरै बिरामीहरू उपचारबाट वञ्चित हुनुपरेको अवस्थालाई ध्यानमा राख्दै यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले संकलित रगतले आपतकालीन अवस्थाका बिरामीहरूलाई राहत पुग्ने विश्वास व्यक्त गरे ।

रक्तदानमा सहभागी रक्तदाताहरुले पनि यस्तो सामाजिक अभियानले समुदायबीच एकता, सहकार्य र परोपकारको भावना मजबुत बनाउने बताएका छन् । उनीहरूले धार्मिक चाडपर्वलाई यस्ता रचनात्मक र समाजोपयोगी कार्यसँग जोड्दा त्यसको महत्व अझ बढ्ने बताए ।

बुद्ध जयन्तीको अवसरमा गरिएको यो रक्तदान कार्यक्रमले धार्मिक उत्सवलाई सामाजिक सेवा र मानव कल्याणसँग जोड्ने एक उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउनुका साथै आवश्यक परेका बिरामीहरूका लागि जीवनदायी सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय