२६ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता आगमी माघ ९ गतेदेखि पोखरामा सुरु हुने भएको छ । आदर्श युवा क्लबको आयोजनामा पोखरा–२९, भण्डारढिक खेल मैदानमा माघ १६ गतेसम्म खेल सञ्चालन हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । आदर्श कपमा गण्डकी प्रदेशका विभिन्न जिल्ला र विभागीय टोलीसहित ८ टोली सहभागी हुने प्रतियोगिताका संयोजक ओमप्रकाश गुरुङले जानकारी दिए । प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की जिल्ला फुटबल सङ्घ, तनहुँ जिल्ला फुटबल सङ्घ, नेपाल प्रहरी (गण्डकी प्रदेश), सशस्त्र प्रहरी बल (मुक्तिनाथ बाहिनी), म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब (पर्वत) र होराइजन क्लब (स्याङ्जा) बिच प्रतिस्पर्धा हुने छ ।



यस वर्ष पुरस्कार राशीमा वृद्धि गरिएको छ । प्रतियोगिताको उपाधि विजेता टोलीले ४ लाख ११ हजार १ सय ११ रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता टोलीले नगद २ लाख ११ हजार १ सय ११, शिल्ड, मेडल र प्रमाणपत्र पाउने क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए । व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २५ हजार प्रदान गरिने छ । त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले ५ हजार रुपियाँ र ट्रफी पाउने छन् भने अनुशासित टोलीलाई पनि ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ६१ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई फस्ट च्वाइस फुड्स लिमिटेडले मुख्य प्रायोजन गरेको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी र आदर्श क्लबको जर्सी पनि सार्वजनिक गरिएको थियो ।




