काठमाडौं — करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गरेका हुन्। साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागीमध्ये गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। त्यस्तै, अन्य १५ जना उपभोक्ताले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

विभागका अनुसार दोस्रो पाक्षिक अवधिमा पुरस्कार योजनामा सहभागी हुने उपभोक्ताको संख्या उल्लेख्य रूपमा बढेको छ। उक्त अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि अपलोड भएका थिए। यसअघि साउनको पहिलो १५ दिनमा पुरस्कारका लागि बिल अपलोड गर्ने कारोबार संख्या ७ हजार ७७ मात्रै थियो। यस्तै, क्यूआर कारोबारमार्फत योजनामा स्वतः सहभागी हुने उपभोक्ताको कारोबार संख्या पनि २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको विभागले जनाएको छ।

साउन १६ देखि ३१ गतेसम्मको अवधिमा उपहार योजनामा सहभागी कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको थियो। यही कारोबारबाट १६ जना विजेता छनोट गरिएको हो। विभागका अनुसार पुरस्कार रकममा कर कट्टी गरिने भएकाले एक लाख रुपैयाँको पुरस्कार घोषणा भएका विजेताले कर कटाएर खुद एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। बम्पर पुरस्कारतर्फ भने १० लाख रुपैयाँ जित्ने विजेताले तोकिएको कर कट्टीपछि रकम प्राप्त गर्नेछन्।

करदाता प्रोत्साहन पुरस्कार योजनाले उपभोक्तालाई कारोबारको बिल लिन तथा व्यवसायीलाई नियमसम्मत रूपमा कारोबार गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको विभागले जनाएको छ। पछिल्लो समय बिल अपलोड तथा क्यूआर कारोबारमा सहभागी हुनेको संख्या बढ्नुले योजनाप्रति उपभोक्ताको आकर्षण बढेको विभागको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय