नेपालको पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि अन्ततः कम्पनी छनोट भएको छ। लामो प्रतीक्षापछि चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सनको संयुक्त उपक्रम युसिन–एआरटी जेभीले पाँच वर्षका लागि सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पाएको हो।

आयोजना प्रमुखका अनुसार उक्त कम्पनीले सरकारी लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम रकम—१ अर्ब १० करोड ४० लाख रुपैयाँमा ठेक्का हात पारेको हो। सोमबार जारी सूचनामार्फत कम्पनीलाई सम्झौता गर्न एक साताको समय दिइएको छ। सुरुङ सञ्चालनका लागि छनोट प्रक्रियामा १० कम्पनी सहभागी भएका थिए, जसमध्ये ७ कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका थिए। आर्थिक प्रतिस्पर्धामा रहेका कम्पनीमध्ये अन्ततः युसिन–एआरटी जेभी सफल भएको हो।

सम्झौतापछि तीन महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने सर्त राखिएको छ। आगामी वैशाख अन्तिमसम्म परीक्षण सञ्चालन सुरु गर्ने तयारी रहेको जनाइएको छ। परीक्षण अवधि कति रहने भन्ने निर्णय सञ्चालन कम्पनीले गर्नेछ। सुरुङ सञ्चालनका लागि करिब १५० जनशक्ति परिचालन गरिनेछ, जसलाई दुई महिनाको विशेष तालिम दिइनेछ। कम्पनीले मर्मत, ट्राफिक व्यवस्थापन, उद्धार सेवा र टोल संकलनको जिम्मेवारी लिनेछ भने सञ्चालन खर्च सरकारले व्यहोर्नेछ। संकलित टोल रकम दैनिक रूपमा सडक बोर्डको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

टोल शुल्क अनुसार साना सवारी कार, भ्यान, जीप आदिलाई काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ लाग्नेछ। मिनिबस र साना ट्रकलाई ११५ रुपैयाँ प्रवेश र ८० रुपैयाँ बाहिरिँदा तोकिएको छ भने ठूला बस र ट्रकका लागि २६० रुपैयाँ प्रवेश र २०० रुपैयाँ बाहिरिँदा निर्धारण गरिएको छ। हेभी लरीका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ।

निर्देशिकाअनुसार पैदलयात्री, मोटरसाइकल, तीनपांग्रे तथा गैर-मोटोराइज्ड सवारीलाई सुरुङमा प्रवेश निषेध गरिएको छ। साथै ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि अनुमति दिइने छैन। २०७६ सालदेखि निर्माण सुरु भएको यस सुरुङमार्गको हालसम्म ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ। निर्माण कार्य जापानी कम्पनीले गरेको हो भने आयोजनामा जापानको सहुलियत ऋण र नेपाल सरकारको लगानी रहेको छ। बाँकी काम छिट्टै सम्पन्न गरी सुरुङ सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय