काठमाडौं । सरकारले कर्मचारीहरुको कार्यसम्पादनलाई परिणामसँग जोड्न हरेक पदको कार्य विवरणको कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक कार्यालयले ४५ दिनभित्र तयार गर्न निर्देशन जारी गरेको छ ।



राम्रो र खराब कार्यसम्पादनलाई समान व्यवहार गर्ने प्रवृत्ति हटाउन ९० दिनभित्र कार्यसम्पादनमा आबद्ध उत्तरदायित्व तथा पुनरावलोकन प्रणाली लागू गर्न भन्दै सरकारले ४५ दिनभित्र सूचक बनाउन निर्देशन दिएको हो । सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको १०० कार्यसूचीमा रहेको यो विषयले कर्मचारीको काम गुणस्तरीय हुने अपेक्षा छ ।
यस्तै सरकारले सेवा प्रवाहमा विद्यमान दोहोरोपन, जटिलता तथा अनावश्यक प्रक्रियाका कारण सेवा प्रवाह ढिलो, खर्चिलो र अप्रभावकारी भएको अवस्थालाई अन्त्य गर्न आवश्यक कानून संशोधनका लागि मस्यौदा बनाउने प्रक्रिया अघि बढाउने जनाएको छ । सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाटमुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउने सरकारको भनाइ छ ।
विद्यमान भ्रष्टाचार, ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहारजस्ता प्रवृत्तिको सुधार गर्दै कर्मचारीतन्त्रलाई उत्तरदायी, सेवामुखी, जनमुखी र उदाहरणीय बनाउन कर्मचारी आचारसंहिताको अक्षरशः कार्यान्वयन गरिने सरकारले जनाएको छ ।



