काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
छैटौँ तहका इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएबापत तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो । सोही सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।



टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ । नियन्त्रणमा लिइएका खड्का माथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।



