सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–१, चुरे फेदीमा रहेको बोरस टोल निवासी सुनमाया सुनुवार उमेरले ९३ वर्ष हुनुभयो । अहिलेसम्म एक थान नागरिकता समेत नपाउनु भएको बयोवृद्ध उहाँ अझै नागरिकता बन्ला र राज्यको सम्मान सामाजिक सुरक्षा भत्ता पाइएला भन्ने आशमा हुनुहुन्छ । उमेरले ९ दशक काटिसक्नु भएकी वृद्धा सुनमाया सुनुवारको जिवनको उतरार्धमा एउटै आश छ । मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाए सुविधा हुने थियो । वृद्धा सुनुवारको दुई विवाह भएको थियो । दुवै तर्फ गरी ७ सन्तान जन्मीए । आफ्नो जायजेथा केही नभएकी उहाँ अहिले छोरीको घरमा शरण लिएर बसिरहनु भएको छ । कुनै कागजात नहुँदा आमाको नागरिकता बनाउन नसकिएको छोरी मिना सुनुवारले बताउनु भयो ।
उमेर ढल्केसँगै स्मृतीहरु पनि धमिला भइसकेका छन् । आफू जन्मेको तिथिमिति ठ्याक्कै याद नभएपनि आमा शुभलक्ष्मी सुनुवारले ९० सालको भुइँचालो त एक वर्षकी थिइस भनेको उहाँको मनस्पटलमा ताजै छ । आफू जन्मेको समय दशैँ छोका परेको उहाँले सम्झना गर्नु भयो । यो डाडाँ माथिको उमेर सँगै बाचिरहनु भएकी वृद्ध सुनमायालाई नागरिक बनाउने प्रयास असफल भएको हरिवन नगरपालिका–१, का वडाध्यक्ष टमबहादुर घिसिङले बताउनु भयो ।
सरकारी कागजको नाममा उहाँ सँग २०५६ सालमा निर्वाचन आयोगले दिएको मतदाता परिचय पत्र छ । तर, त्यसको आधारमा उहाँले नागरिकता नपाउनु भएको परिवारको गुनासो छ । अरु कुनै प्रयोजन नभएपनि राज्यले वृद्ध अवस्थामा दिने सुविधा पाउन आफू एक थान नागरिकता कुरिरहेको सुनमायाले सुनाउनु भयो । वृद्धा सुनमायाको अवस्था थाहा पाएदेखी नै आफूले नागरिकता बनाएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न गरेको प्रयास असफल भएको वडाध्यक्ष घिसिङको भनाई छ ।

छिमेकमा आफू भन्दा कम उमेरका साथीसङ्गिले राज्यले दिने सामाजिक सुरक्षा भत्ता थापेर आउदा आफूले पनि पाउछुकी भन्ने आश लाग्ने गरेको उहाँले सुनाउनु भयो । यस्ता वृद्धवृद्धा एउटा कागजातको अभावमा राज्यको सम्पूर्ण सेवा सुविधाबाट बञ्चित हुनुपरेको देख्दा आफू स्थानीय सरकारको वडाध्यक्ष भन्दा पनि मन अमिलो हुने गरेको उहाँको भनाई छ । आफू वडाध्यक्ष हुँदै गर्दा यहाँको धरोहर ज्येष्ठ नागरिक बयोवृद्ध आमालाई एउटा नागरिकता दिलाएर सामाजिक सुरक्षा भत्ता खुवाउने ठुलो रहर रहेको उहाँले सुनाउनु भयो । राज्यले दिलाउने भत्ता मात्र दिन पाए वृद्ध आमाले बिमारी हुँदा औषधीमूलो र आफूलाई मनलागेको खाने कुराको लागि अरुको मुख ताक्नु पर्दैन थियो भन्ने वडाध्यक्ष घिसिङको अपेक्षा छ । यस्ता डाडाँ माथिका जुन घाम भैसकेका वृद्धवृद्धाले दुख पाउँदा समाज समृद्ध नबन्ने उहाँ बताउनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय