
काठमाडौं । आश्विन शुक्ल प्रतिपदा अर्थात् विजयादशमीको पहिलो दिन घटस्थापना । आजैबाट नवरात्रिको आरम्भ भएको अर्थात् दशैं सुरु भएको छ ।
दशैंको पहिलो दिन सबै हिन्दु नेपालीका घरघरमा जमरा राख्ने गरिन्छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवा सहितको पञ्चमाटोमा छरिन्छ र टीकाको साइतमा त्यही जमरालाई फूलको रुपमा प्रयोग गरेर शिरमा सिउरीदिने गरिन्छ । जमरामा विशेष गरि जौंको प्रयोग गरिन्छ भने धान र मकैको पनि प्रयोग गरिएको पाइन्छ । जौलाई आदी काल देखी चोखो वनस्पतीको रुपमा हेर्ने गरिएको छ । प्रकाश नआउने स्थानमा शुद्ध माटोमा उमारिएको पहेलो जमरालाई धर्मशास्त्रमा सम्बृद्धिको प्रतिक मानिन्छ । वैज्ञानिक दृष्टिकोणबाट पनि यसको महत्व त्यत्तिकै छ । जमरा राख्नुपूर्व रातो र कमेरोको माटोले लिपपोत तथा रङरोगन गर्ने प्रचलन रहँदै आएको छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यताका कारण सबैले आ–आफ्नो घरलाई विशेषरुपमा सफासुग्घर गराउने प्रचलन रहँदै आएको छ ।



आजदेखि नवमीसम्म देवी मन्दिरहरु र घरघरमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गर्ने चलन छ । दुर्गासप्तसती चण्डी, स्त्रोत्र रत्नावली, कालिका स्तोत्र, दुर्गाकवच, श्रीमद् देवीभागवत आदि पाठ पढिन्छ । आज भगवती दुर्गा भवानीको प्रथम रुप माता शैलपुत्रीको पूजाआजा धुमधामकासाथ गरिदैं छ ।