जेन्जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई स्वीकृति दिएको विषयलाई लिएर मुभमेन्टले शक्तिको दुरुपयोग र अपराधीलाई संरक्षण गर्ने प्रयास भएको आरोप लगाएको हो।
मुभमेन्टका प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा महान्यायाधिवक्ता सविता भण्डारीलाई तत्काल बर्खास्त गर्न माग गरिएको छ। उनले जेनजी आन्दोलन र शहीदहरूको बलिदानीबाट बनेको भनिएको सरकारले नै अपराधीलाई उन्मुक्ति दिन खोज्नु लोकतन्त्र र कानूनको शासनमाथि गम्भीर प्रहार भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ,“जेन्जी मुभमेन्टको विद्रोहलाई अपहरण गर्दै सत्ता कब्जाबाट बनेको सुशीला कार्की नेतृत्वको सरकार र उहाँले नियुक्त गर्नुभएका महान्यायाधिवक्ताबाट अपराधीलाई उन्मुक्ति दिने कार्यले कानूनको सर्वोच्चता कमजोर बनाएको छ।”



मुभमेन्टले यस्तो निर्णयलाई लोकतान्त्रिक मूल्य, पीडितको न्याय र राज्यको संवैधानिक जिम्मेवारीविरुद्धको कदम भनेर व्याख्या गरेको छ। “कुनै पनि अपराधीलाई दिइने उन्मुक्ति जेनजी विद्रोहमाथिको धोका र बलिदानीमाथिको गम्भीर अपमान हो,” विज्ञप्तिमा उल्लेख छ। जेन्जी मुभमेन्टले ‘कानून सबैका लागि समान हुनुपर्छ’ भन्ने सिद्धान्त दोहोर्याउँदै शक्तिशाली व्यक्तिका लागि छुट र पीडितका लागि मौनता स्वीकार्य नहुने स्पष्ट पारेको छ।
मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता सविता भण्डारीलाई सार्वजनिक रूपमा बहिष्कार गर्न समेत आह्वान गरेको छ। साथै, उक्त निर्णय तत्काल फिर्ता नभए देशव्यापी प्रतिरोधका कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिएको छ।




