काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फको उपाधि न्यू डायमण्ड स्पोर्टस क्लबले जितेको छ ।



च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा न्यू डायमण्डले विभागीय क्लब नेपाल पुलिसमाथि सोझो सेटमा जित हासिल गरेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा न्यू डायमण्डले पहिलो सेट २५–११ ले जितेको थियो । त्यसपछि उसले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले जित्दै पहिलो पटक च्याम्पियन बन्न सफल भयो । प्रतियोगितामा न्यू डायमण्ड कुनै पनि सेटमा पराजित नभइ च्याम्पियन भएको हो ।
उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो । उपविजेता पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा पायो । तेस्रो बनेको थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो । न्यू डायमण्डले एक महिनाभित्र जितेको यो तेस्रो उपाधि हो । न्यु डायमण्डले यसअघि शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल र एनभिए च्याम्पियनसिपमा पनि पुलिसलाइै हराउँदै उपाधि जितेको थियो ।
न्यू डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी हुँदै २६ हजार ६६६ रुपैयाँ पाइन् । सर्भरमा न्यू डायमण्डकी प्रतिभा माली, लिविरोमा पुलिसकी शान्तिकला तामाङ, सेटरमा न्यू डायमण्डकी प्रगती नाथ, ब्लकरमा न्यू डायमण्डकै सुनिता खत्री, स्पाइकर थाइल्याण्डकी पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार ६६६ हात पारे ।




