काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ६ स्थित बालागाउँमा निर्माण भइरहेको नयाँ प्रवेश द्वारको काम अन्तिम चरणमा पुगेको छ ।



गाउँको पहिचान, इतिहास र सांस्कृतिक धरोहरलाई उजागर गर्ने उद्देश्यले सुरु गरिएको यस महत्वाकांक्षी योजनाअन्तर्गत गजुर राख्ने कार्य सम्पन्न भएको छ । यससँगै प्रवेश द्वार निर्माणको प्रमुख संरचनात्मक काम लगभग सम्पन्न भएको वडा नं. ६ का वडा सदस्य शान्ता भण्डारी बलामीले जानकारी दिनुभएको छ । स्थानीय कला, संस्कृति र परम्परालाई केन्द्रमा राखेर डिजाइन गरिएको यो प्रवेश द्वारले बालागाउँको मौलिकता झल्काउने अपेक्षा गरिएको छ । विशेषगरी, परापूर्वकालमा गाउँमा रहेका चारवटा ऐतिहासिक द्वारहरूको सम्झनालाई पुनर्जीवित गर्ने लक्ष्यसहित यसको निर्माण गरिएको हो । नयाँ पुस्तालाई आफ्नो इतिहाससँग जोड्ने र बाहिरी आगन्तुकलाई गाउँको सांस्कृतिक पहिचानबारे जानकारी गराउने माध्यमका रूपमा यसलाई हेरिएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार, यो प्रवेश द्वार केवल भौतिक संरचना मात्र नभई गाउँको गौरव, एकता र पहिचानको प्रतीकका रूपमा स्थापित हुनेछ । निर्माण सम्पन्न भएपछि यसले पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पु¥याउने विश्वास गरिएको छ । गाउँको सुन्दरता अभिवृद्धि गर्नुका साथै सांस्कृतिक महत्व झल्काउने यो संरचनाले बालागाउँलाई नयाँ पहिचान दिने अपेक्षा गरिएको छ ।
यस परियोजनालाई सफलतापूर्वक अगाडि बढाउन आवश्यक बजेट व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नु हुने नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठप्रति स्थानीयवासीहरूले आभार व्यक्त गरेका छन् ।
अब केही साना कामहरू सम्पन्न भएसँगै चाँडै नै प्रवेश द्वार औपचारिक रूपमा उद्घाटन गरिने तयारी गरिएको छ ।



