फिफा विश्वकप २०२६ को फाइनल केवल अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्त मात्र होइन, यो फुटबल इतिहासकै सबैभन्दा रोचक भेट हुनेछ । जहाँ वर्तमान फुटबलका सम्राट लियोनल मेस्सी अर्जेन्टिनालाई लगातार दोस्रो उपाधि दिलाउने लक्ष्यमा छन् । अर्को तर्फ फुटबलको भविष्यका रुपमा हेरिएका लामिन यामल, जो १६ वर्षपछि स्पेनलाई विश्वकप जिताउन लागि परेका छन् । एउटै क्लब बार्सिलोनाबाट विश्व फुटबलमा उदाएका यि फरक पुस्ताबीचको घम्साघम्सी साँच्चैनै भाग्यको खेल र विश्वकपको महाभिडन्त हो । फुटबलले बेला बेलामा यस्तो कथा रचना गर्छ, जसलाई कुनै फिल्मको पटकथाले पनि उछिन्न सक्दैन ।
सन् २०२४ मा इङ्ल्याण्डलाई हराउँदै स्पेनले युरोकप जित्यो । १२ वर्षपछि स्पेनलाई यो सफलता दिलाउन मात्र १६ वर्ष उमेरका लामिन यामलले नायकीय प्रदर्शन गरे । उनले योङ प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पनि जिते । भर्खरका ठिटोले गरेको प्रदर्शनले विश्व फुटबल ध्यान तान्यो । अनि उनको विगत र इतिहासबारे खोजी हुन थाल्यो । त्यहि बेला भेटियो, १६ वर्ष अगाडिको एउटा फोटो । जहाँ एक शिशुलाई मेस्सीले नुहाइदिँदै थिए ।



सन् २००७ मा बार्सिलोना फाउन्डेसन र युनिसेफले च्यारिटी क्यालेन्डरका लागि फोटो सेसन आयोजना गरेको थियो । त्यही क्रममा २० वर्षीय मेस्सीले प्लास्टिकको सानो बाथटबमा तीन महिनाका एक शिशुलाई नुहाइदिए । त्यो तस्बिर त्यसबेला सामान्य फोटो सेसनमात्र थियो । कसैले कल्पना पनि गरेको थिएन, यही तस्वीरबाट एक दिन विश्व फुटबलकै सबैभन्दा रोचक गाथा कोरिनेछ ।

आज त्यही शिशु १९ वर्षको लामिन यामल बनेर मेस्सीको ऐतिहासिक साम्राज्यलाई चुनौती दिन विश्वकपको फाइनलमा उभिएका छन् । पहिलो विश्वकप खेलिरहेका १९ वर्षीय यामल सम्भावित अन्तिम विश्वकप खेलिरहेका ३९ वर्षीय मेस्सीकैविरुद्ध मैदान उत्रिँदै छन् ।
दुई पुस्ताको संगम:
९३९ वर्षका मेस्सी र भर्खरै १९ वर्ष टेकेका यामलबीच २० वर्षको अन्तर छ । मेस्सीले सन् २००४ मा बार्सिलोनाका लागि डेब्यु गर्दा यामल जन्मिएका समेत थिएनन् । तर, सायद एउटै क्लब बार्सिलोनाबाटै फुटबलको उडान भरेको कारण पनि यामललाई निरन्तर मेस्सीसँग तुलना गरिन्छ ।

यामललाई भविष्यका मेसी भन्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । यसको कारण केवल उनको उमेर होइन, खेल्ने शैली पनि हो । दायाँ विंगबाट बल लिएर डिफेन्डरलाई सहजै छल्ने, असम्भव देखिने कोणबाट पास निकाल्ने र खेलको गति एक्लैले बदल्ने क्षमता उनलाई अरूभन्दा फरक बनाउँछ । तुलनाको कुरा आइहाल्यो । अब तथ्यमा आधारित भएर यामल र मेस्सीले १९ वर्षको उमेर गरेका प्रदर्शन र पाएका सफलताको पनि एकै क्षण कुरा गरौं ।
१९ वर्षको उमेरमा को कस्तो ?
लामिन यामालले १५ वर्षकै उमेरमा व्यावसायिक डेब्यु गरेका कारण १९ वर्षको उमेरसम्म आइपुग्दा उनले मेस्सीको तुलनामा धेरै खेल खेलिसकेका छन् र तथ्याङ्कमा निकै अगाडि देखिएका छन् । १९ वर्षको उमेर पूरा गर्दासम्म क्लब र देश दुवैका लागि यी दुईको प्रदर्शन र सफलता यस्तो छः
समग्र खेलः मेस्सी ४१, यामल १८२
गोलः
मेस्सी १९, यामल ५६
असिस्टः
मेस्सी ४, यामल ६४
पेनाल्टीः
मेस्सी १, यामल ७
गोलका लागि योगदानः
मेस्सी २३, यामल १२०
अन्तर्राष्ट्रिय उपाधिः
मेस्सी फिफा वल्र्ड युथ च्याम्पियनसिप २००५, यामल युरोकप २०२४
व्यावसायिक सफलताः
मेस्सी ला लिगा २ पटक, युइएफए च्याम्पियन्स लिग २००६, यामल ला लिगा, सुपरकोपा
तर यि दुईबीच भने पहिलो पटक कुनै पनि खेलमा भेट हुन लागेको हो ।
टरेको फाइनलिसिमा, जुरेको विश्वकपः
सन् २०२४ को युरो विजेता स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच २७ मार्च २०२६ मा कतारको लुसेल स्टेडियममा फाइनलिसिमा २०२६ खेल्ने तय भएको थियो, तर सुरक्षा कारणले खेल रद्द गरियो । तसर्थ, विश्वकपको यहि फाइनल खेल नै यी दुईबीच मैदानमा हुन लागेको पहिलो भेट हो । अब आइतबार हुने विश्वकपको फाइनल खेल फुटबलको एक कालखण्डको अन्त्य र अर्को स्वर्णिम युगको सुरुआतको साक्षी बन्नेछ । एकातिर विश्व फुटबलका महानायक, जसले दुई दशक बढी समय संसारलाई आफ्नो जादूले मोहित बनाए । अर्कोतिर त्यही जादूको उत्तराधिकारी मानिएका किशोर, जो आफ्नै इतिहास लेख्न तयार छन् ।



