मैथिली, नेपाली र अङ्ग्रेजी साहित्यका विद्वान् तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ । ८० वर्षीय डा. विमलको उपचारका क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको हो । मैथिली र नेपाली साहित्यको विकास तथा भाषा, कला र संस्कृतिको संरक्षणमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । मैथिली, नेपाली र अङ्ग्रेजी साहित्यका वरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमल अब हामीमाझ रहनुभएन । सन् १९४७ मार्च २६ मा धनुषाको देवडिहामा जन्मिनुभएका डा. विमलले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर तथा भाषा विज्ञानमा विद्यावारिधि गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा विसं २०२९ सालदेखि करिब चार दशक नेपाली विषय अध्यापन गर्नुभएका उहाँ प्राध्यापक, भाषाविद् तथा संस्कृतिविद्का रूपमा समेत परिचित हुनुहुन्थ्यो ।

डा. विमलले साहित्यका विभिन्न विधामा कलम चलाउनुभएको थियो । कथा, कविता, गीत, गजल, नाटक, उपन्यास, साहित्य समालोचना, अनुवाद तथा बालसाहित्यमा उहाँको योगदान रहेको छ ।सन् १९६३ मार्च १५ मा ‘मिथिला मिहिर’ पत्रिकामा ‘विपतियो’ नामक पहिलो मैथिली कथा प्रकाशित गरेसँगै उहाँको साहित्यिक यात्रा सुरु भएको थियो ।उहाँका चर्चित कृतिमा ‘हमरे कथा यक इतिहास’, ‘घाटो’ लगायतका रचना रहेका छन् । उहाँको कथामा आधारित मैथिली टेलिफिल्म ‘हँसा चलन परदेश’ नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । उक्त टेलिफिल्मले मैथिली साहित्यलाई आम दर्शकमाझ पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

साहित्य लेखनसँगै डा. विमल मैथिली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँ जनकपुरस्थित मैथिली विकास कोषको संस्थापक अध्यक्षसमेत रहनुभएको थियो । मैथिली भाषा र संस्कृतिको विकासमा जीवनभर सक्रिय रहनुभएका विमलले साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएको थियो ।

भाषा र साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै डा. विमललाई विसं २०६६ सालको प्रतिष्ठित जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो ।त्यसैगरी उहाँ नेपाल विद्यापीठ भाषा साहित्य पुरस्कारका पहिलो प्राप्तकर्ता हुनुहुन्थ्यो । मधुपर्क सम्मान, गरिमा सम्मान तथा राष्ट्रिय प्रतिभा पुरस्कारबाट समेत उहाँ सम्मानित हुनुभएको थियो । भाषा केवल सञ्चारको माध्यम नभई आफ्नो पहिचान भएको उहाँको मान्यता थियो ।

डा. राजेन्द्र प्रसाद विमलको निधनले मैथिली तथा नेपाली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार तथा संस्कृतिकर्मीहरूले बताएका छन् । साहित्य सिर्जना, अध्यापन र भाषा तथा संस्कृतिको संरक्षणमा उहाँले पुर्‍याउनुभएको योगदानले मैथिली र नेपाली साहित्यमा उहाँको छुट्टै स्थान स्थापित गरेको छ ।८० वर्षको उमेरमा भएको उहाँको निधनसँगै मैथिली साहित्यले एक वरिष्ठ स्रष्टा तथा भाषाविद् गुमाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय