कोसी प्रदेश सरकारमा माओवादीबाट सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्य र भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले आज एमाले नेतृत्वको प्रदेश सरकारबाट राजीनामा दिएका हुन । मंगलबार मात्रै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

त्यसलगत्तै मन्त्रीद्वयले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन । कोसीमा एमाले नेता कार्कीको नेतृत्वमा सरकार गठन भए पनि संघीय समीकरण बदलिएपछि माओवादीले समर्थन फिर्ता लिएको हो । समर्थन फिर्ता लिएसँगै एमालेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

कोसीमा नयाँ सरकारका लागि कांग्रेस, माओवादी दुवैले दाबी गर्दै आएका छन । पुस ९ गते एमाले, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछि पुस २५ गते मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भएको थियो । मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, रप्रपाका ६ र जसपाका एक जना प्रदेश सभा सदस्यको समर्थन थियो । जसपाले यसअघि नै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

अब मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई राप्रपाको मात्रै समर्थन रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेकाले अल्पमतमा परेको छ । सत्ता गठबन्धन टुटेपछि बाँकी छ प्रदेशमा नयाँ गठबन्धन सरकार यसअघि नै बनिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय