

बर्दियाको सदरमुकाम गुलरियामा रहेको बर्दिया कारागारबाट एक जना कैदी भागेका छन् । आईतबार बिहान ३ बजेर २५ मिनेट जाँदा कारागार भित्रको शौचालय माथि चढेर कारागारमा रहेको ग्यारेज साईडको छतबाट हामफालेर कैदी भागेसँगै बर्दिया कारागारको सुरक्षामा चुनौती थपिएको छ । कर्तव्य ज्यान जस्तो जगन्य अपराध मुद्दामा ३० वर्ष सजाय भोगिरहेका २७ वर्षीय (टोपे) भन्ने आजिव बुढाक्षेत्री छतबाट हामफालेर भागेको बर्दिया कारागार प्रशासन कार्यालयका कारागार प्रशासक सन्तोष बिकले जानकारी गराएका छन् ।
कारागारबाट फरार भएका कैदी बर्दियास्थित ठाकुरबाबा नगरपालिका वडा नम्बर–८ घर भएका हुन् । भागेका कैदीको खोजीकार्य तीब्र पारिएको बर्दिया प्रशासनले जानकारी गराएको छ । खोजी कार्यका लागि कुकुरको प्रयोग समेत गरिएको छ । छिमेकी जिल्ला लगायत भारतीय सीमा नाकाहरुमा समेत जानकारी गराईको कारागार प्रशासन बर्दियाले जनाएको छ । भाग्न सफल भएका कैदीलाई भाग्दा भाग्दै प्रहरीले समात्न खोजेपनि प्रहरीलाई छलेर टोपे भाग्न सफल भएका हुन् ।






प्रहरीले समात्न खोज्दा कैदीले लगायको कपडा र जुत्ता फुकालेर भागेको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण रिसालले बताएका छन् । कारागारको भौतिक संरचना समेत सुरक्षित नभएका कारण कैदी भाग्न सफल भएको आँकलन गरिएको छ । कारागार क्षेत्र भन्दा बाहिर रहेको पर्खाल समेत निर्माण कार्य पुरा नभएकोले पनि कैदीलाई भाग्न सहज भएको छ । कारागारको प्रहरी सुरक्षा घेराबाट यसरी कैदी भागेसँगै बर्दिया कारागारको सुरक्षामा ध्यान नदिईएको आमनागरिकहरुको भनाई छ । हाल बर्दिया कारागारमा पुरुष कैदीबन्दी ३ सय २, पुरुष थुनुवा १ सय, महिला कैदी २२ र आश्रित गरी जम्मा ४ सय ५४ जना रहेका छन् ।