काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले भारतसँग खेल्दैछ ।
श्रीलंकाको क्यान्डीमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ । एसिया कपको ६ टोलीमध्ये सबैभन्दा कमजोर टोली नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार व्यहोरेको थियो । कपको उपाधि दाबेदार भारतसँग अकल्पनीय नतिजा निकालेर नेपाल सुपर फोरमा पुग्न चाहन्छ । अब समूह ए मा नेपाल र भारतबीचको खेलको विजेता अर्को चरणमा पुग्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेसँगै २७ वर्षपछि नेपालले भारतविरुद्ध खेल्ने अवसर पाएको हो । सन् २०१७ मा एसीसी यु १९ एसिया कपमा नेपालले भारतलाई १७ रनले हराएको थियो । त्यस समयमा पनि समूह ए मा भारतलाई हराउँदै नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो ।



यसअघि भारतले आफ्नो पहिलो खेलमा चीरप्रतिद्वन्द्वी पाकिस्तानसँग अंक बाँड्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाइ सकेको छ ।



