

नेपालले अंग्रेज सेनालाई युद्धमा जीतेको खुशीयालीमा तानसेनमा विजयउत्सव भगवती रथयात्रा गरिएको छ । १८७१ पौषदेखि १८७२ जेठसम्म पाल्पा नुवाकोट, बुटवल जीतगढी युद्धमा नेपालले अंग्रेजलाई पराजीत गरेको खुशीयालीमा रथायात्रा हुने गरेको छ । पश्चिम नेपालकै ठूलो जात्राको रुपमा रहेको श्री ७ रणउजेश्वरी भगवती जात्रा धुमधामले मनाइएको छ । नेपालले अंग्रेज सेनालाई युद्धमा पराजीत गरी विजय हासिल गरेको खुशीयालीमा पाल्पामा भगवतीको जात्रा निकाल्ने गरिन्छ ।
तानसेनको भगवती टोलस्थित भगवती मन्दिरबाट रथलाई शुभ साइतमा निकालेर बाजागाजाका साथ तानसेन दरबार परिसर हुँदै बजार परिक्रमा गराइन्छ । नेपाली सेनाले पञ्चबली दिई विशेष पूजाअर्जना गरेपछि रथलाई बजार परिक्रमा गराई भगवती मन्दिर परिसरमै पुगेर राख्ने गरिन्छ ।






पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिंह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन तीनै आराध्यदेवी भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप सिन्दूर यात्रासहित भगवतीको रथयात्रा निकाल्ने गरिएको हो ।
कर्णेल थापाले वि.सं १८७२ बाट मन्दिर बनाउन सुरु गरी वि.सं १८७६ मा निर्माण सम्पन्न गरेका थिए । तिनै थापा नेतृत्वको फौजले वि.सं १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज फौजलाई परास्त गरेका थिए । युद्धमा निस्कनुअघि कर्णेल थापाले युद्धमा विजयी भएमा ठूलो मन्दिर बनाई हर्ष बढाईसहित सिन्दूर जात्रा शुभारम्भ गर्ने भाकल भगवतीसँग गरेका थिए । आफ्नो भाकल पूरा भएपछि कर्णेल थापाले मन्दिर बनाई यो जात्रा निकाल्न थालिएको इतिहास छ । रणउजीरेश्वरी भगवती जात्राको दिन तानसेनमा सरकारी बिदासमेत दिने गरिएको छ । जात्रा हेर्न गुल्मी, रुपन्देही, अर्घाखाँची तथा स्याङ्जाबाट समेत सर्वसाधारण पुग्ने गर्दछन् ।