

वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह मंगलबार रातभर तनावग्रस्त बन्यो । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरे । मंगलवार राति करिब ९ बजे बालगृहमा रहेका बाल कैदीबन्दीहरुबीच आपसमै विवाद भएको थियो । विवाद चर्केपछि केहि बाल कैदीबन्दीहरुले तोडफोड र ढुंगामुढा सुरु गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।






करिब राति ११ बजेसम्म समेत प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेको थिएनन् । ड्युटी खटेका प्रहरीलाई भित्र प्रवेश गर्नै नदिएपछि पर्साका एसपी कोमल शाह आफैँ ठूलो संख्यामा प्रहरी लिएर त्यहाँ पुगेका थिए । प्रहरी भित्र पसेपछि कैदीबन्दीहरुले पत्रकारलाई बोलाउन आग्रह गरेका थिए । त्यसपछि पुगेका पत्रकारहरुसँग बाल कैदीबन्दीहरुले बासी खाना खुवाउने गरेको, यातना दिने गरेको, गलत कुरा गर्दा पनि बोल्न नदिएको जस्ता गुनासा गरेका छन् ।
पर्साका प्रहरी प्रमुख एसपी शाहका अनुसार सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी छन् । अस्ति भक्तपुरमा विवाद गर्दा १८ कैदीबन्दीलाई यहाँ पठाइयो ।
उनीहरूले नै विवाद गरेका हुन् । विवाद के हो भन्ने जिज्ञासामा उनले भने, ‘उनीहरुबीच आन्तरिक विवाद छ । म पनि राम्रोसँग बुझ्न पाएको छैन् ।’ घटनामा एकजना बाल कैदी घाइते भएको र उनको अवस्था सामान्य रहेको उनको भनाई छ ।
बाल सुधारगृह भित्र घाइते भएकाहरूको नारायणी अस्पतालमा उपचार चल्दै छ । झडपका क्रममा बालसुधार गृहका ९ जना बालक र ३ जना प्रहरी घाइते भएका छन् । गृहमा अझै पनि केही घाइते बालकहरू त्यही रहेको उपचार गराइरहेकाहरूले जनाएका छन् । रातभरी तनाबग्रस्त बनेको बालग्रह आज पनी तनाव ग्रस्त रहेको छ भने प्रहरीले सुरक्षा व्यवस्था थप मजबुत बनाएको छ ।