एप्पलका नयाँ उत्पादनहरू गएराति सार्वजनिक गरेको छ । अमेरिकामा एक कार्यक्रम गरी एप्पलले आईफोन १५ सिरिजका विभिन्न मोडल र एप्पल वाच सार्वजनिक गरेको हो । आईफोन ५ देखि १४ सम्मका सिरिजमा प्रयोग गरिएको लाइटनिङ चार्जरको सट्टा नयाँ फोनमा टाइप–सी चार्जर राखिएको छ ।

यसलाई सबैभन्दा ठूलो परिवर्तन मानिएको छ । युरोपेली युनियनले डिजिटल फोहोर बढेको भन्दै सबै उत्पादनमा टाइप सी चार्जर प्रयोगमा दवाव दिएपछि एप्पल त्यसलाई परिवर्तन गर्न बाध्य भएको हो । आईफोन १५ र आईफोन १५ प्लसमा ठूलो र थप उज्यालो स्क्रीनको प्रयोग सहित क्यामेराको गुणस्तर पनि बढाइएको छ । त्यसैगरी आईफोन १५ प्रो र प्रो म्याक्समा अन्तरिक्ष यानमा प्रयोग गरिने टाइटेनियम फ्रेमको प्रयोग गरिएको छ ।

प्रो र म्याक्समा म्यूट स्विचको स्थानमा “एक्सन बटन” पनि राखिएको छ । जसले क्यामेरा लगायत अन्य एप्सहरूमा क्विक एक्सेसका लागि सहयोग गर्ने एप्पलको दाबी छ ।एप्पलका कार्यकारी अधिकृत टिम कुकले नयाँ आईफोन १५ कम्पनीले बनाएको अहिलेसम्म कै उत्कृष्ट र सक्षम आईफोन भएको बताए ।अर्को हप्तादेखि बिक्री सुरू गरिने आईफोनको नयाँ मोडल २०१२ पछि अल्टर्नेटिभ चार्जिंग पोर्ट सुविधा दिने पहिलो मोडल हुने एप्पलले जनाएको छ ।

एप्पलले दिएको जानकारी अनुसार आईफोन १५ प्रो ९९९ डलर देखि नै उपलब्ध हुनेछ । तर, यसको स्टोरेज क्षमताको आधारमा मुल्य बढ्दै जानेछ । त्यसैगरी, आईफोन १५ प्रो म्याक्स भने ११९९ डलरदेखि उपलब्ध हुने जानकारी दिइएको छ । त्यस्तै एप्पले थप परिष्कृत चीप सहितको एप्पल वाच सिरिजपनि सार्वजनिक गरेको छ । नयाँ एप्पल वाचमा ‘जेस्चर कन्ट्रोल’ फिचर समावेश गरिएको छ ।

यस फिचर अन्तर्गत घडी लगाइएकै हातका दुई औंलाहरू सँगै डबल ट्याप गर्दा फोन उठाउन सकिनेछ । त्यसैगरी, सोही प्रक्रियाले फोन काट्न समेत सकिने बताइएको छ । एप्पलले अबका कुनै पनि सामानहरूमा छालाको प्रयोग नगर्ने बताएको छ । सन् २०३० सम्ममा कार्बन न्यूट्रल बन्ने बाचा अनुरूप कम्पनीले आफ्ना उत्पादनमा छालाको प्रयोग नगर्ने घोषणा गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय