

काठमाडौं । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । गत साउन २४ गते संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो ।
कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ । कैदी हत्या घटनामा जेल चलान गरिएका ७ प्रहरीमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, खाँदबारी कारागारमा सुरक्षा गार्ड सुमन गुरुङ, दमनसिंह राई, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान मनिष राई, पवनकुमार महतो, नुशन राइ रहेका छन ।







त्यस्तै कैदी तर्फ बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारू मगर, इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाङ , रामबहादुर कार्की, र डाँकाचोरी कसुरमा कैद भुक्तान गरिरहेका टीकाराज चौहान, कर्तव्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका नवीनकुमार राईलाइ जेल चलान गरिएको हो ।अपराधमा संलग्न प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुमको जेलमा पठाइएको छ ।