काठमाडौँ । संविधान दिवसका अवसरमा ६७० जना कैदीहरुको कैद कट्टा गरी सजाय माफी मिनाहा हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसका आधारमा बुधबारदेखि लागू हुने गरी ६७० जना कैदीहरुको कैद माफी मिनाहा गर्नु भएको हो । राष्ट्रपति कार्यालयबाट जारि विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १ क. लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६–WO–०९३९ र रिट नम्बर ०७९–WH– ०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूचीबमोजिमका ६ सय ७० जना कैदीहरूको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को २०८०-०५-२९ को बैठकको सिफारिसबमोजिम २०८०-०६-०३ गतेदेखि लागू हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ, भनिएको छ ।







