

काठमाडौं । १९औं एसियाली खेलकुदको टर्च र्यालीमा नेपालको प्रतिनिधित्व गर्दै बक्सिङ प्रशिक्षक दीपक महर्जनले सहभागीता जनाएका छन् ।






भदौ २२ गतेदेखि सुरु भएको र्यालीको अन्तिम दिन बुधबार दीपकले टर्च बोेकेका हुन् । नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक उनी र्यालीमा सहभागी भएका हुन् । र्यालीमा सहभागी हुन सन् २०१० मा चीनमै भएको ग्वाङझाउ एसियाडका काँस्य पदक विजेता समेत रहेका उनी सोमबार चीन प्रस्थान गरेका थिए । हाङझाउको वेस्ट लेकबाट सुरु भएको र्याली चीनको पूर्वी क्षेत्र झेजियाङ प्रान्तका ११ शहरमा १३ दिनसम्म २ हजार २२ जनाले टर्च परिक्रमा गराईएको थियो ।
एसियाडमा सहभागी देशले टर्च र्यालीमा आफ्ना सहभागी पठाएका थिए । नेपालको प्रतिनिधित्व गर्दै र्यालीमा टर्च बोक्न पाउनु सबै नेपालीका लागि खुशीको दिन रहेको दीपकले चीनबाट प्रतिक्रिया दिए । र्यालीमा झेजियाङ प्रान्तका विभिन्न आकर्षणहरू, सांस्कृतिक महत्व र पर्यटकीय क्षेत्रको भ्रमण गराईयो । १४ देखि ८४ वर्षसम्मका मसालवहाक समावेश गराइएको र्यालीको डिजिटल प्लेटफर्ममा १० करोड भन्दा बढी व्यक्तिहरू भाग लिएको आयोजकले बताएको छ ।
टर्च अब शनिबार हुने उद्घाटनका लागि हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा लगिनेछ ।