प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण आजदेखि शुरु भएको छ । संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री राति नै न्युयोर्कबाट चीन भ्रमणमा निस्किएका हुन् ।प्रधानमन्त्री दाहाल चीनको हाङ्झाउमा हुने एसियाली खेलुकदको उद्घाटन समारोहमा सहभागी हुन र त्यसपछि द्विपक्षीय भेटवार्ता गर्नको लागि चीन गएका हुन् । न्युयोर्कबाट प्रधानमन्त्रीको सचिवालयसहित परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र अरु परराष्ट्रमन्त्रालयका अधिकारी त्यसतर्फ गएका छन् ।




अरु टोली नेपालबाटै चीनतर्फ गएका हुन् । प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता हुने तय भएको छ । १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङ्जाओमा रहने र प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट त्यहीँ पुग्ने भएपछि आज भेट हुने भएको हो । औपचारिक भेटवार्ता भएसँगै प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुद समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री भोलि बेइजिङ पुग्ने कार्यसूची छ ।

प्रधानमन्त्री दाहाल र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट पर्सि सोमवारका लागि तय भएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । न्युयोर्कको ५ दिनको भ्रमण सकेर प्रधानमन्त्री दाहल ७ दिने चीन भ्रमणमा गएका हुन् ।



