राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकमा भएका पछिल्ला धार्मिक र साम्प्रदायिक असहिष्णुता बढाउने गतिविधिबारे छलफल भएको छ । बुधबार साँझ बसेको बैठकमा साम्प्रदायिक असहिष्णुता बढाउने घटना नियन्त्रणबारे छलफल भएको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले जनाएको छ । परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा परिषद्को सचिवालय सिंहदरबारमा बसेको बैठकमा सुरक्षा चुनौती समाधानका विषयमा छलफल भएको परिषदे विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा विभिन्न प्रदेशहरूको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाहरू तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा समेत छलफल भएको विज्ञप्ति जनाइएको छ । बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउँद, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, मुख्यसचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्माको उपस्थिति थियो ।

बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा पनि गरिएको थियो । राष्ट्रिय सुरक्षा परिषद्को पाँचौं वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय