काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण आजबाट सुरु हुँदै छ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करणका खेल भारतमा हुनेछ । भारतका विभिन्न १० वटा सहरका १० वटा रङ्गशालामा खेल खेलाइने छ । विश्वकपमा १० वटा टोली सहभागि छन् । प्रतियोगितामा आयोजक भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अस्ट्रेलिया, इङ्गल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, नेदरल्यान्ड्सको सहभागिता रहेको छ । इङ्गल्यान्ड, अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड एकदिवसीय विश्वकपको १३ वटै संस्करणमा सहभागिता जनाउने राष्ट्र हुन् ।



प्रतियोगिताको उद्घाटन खेल एक लाख ३० हजार दर्शक क्षमता भएको अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ । उद्घाटन खेल साबिक विजेता इङ्गल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच हुनेछ । विश्वकप खेलाइने सहरहरूमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । एकदिवसीय विश्वकपको पहिलो संस्करण सन् १९७५ मा आयोजना भएको थियो ।



