काठमाडौं । परिश्रमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

परिश्रम गरौं, बचत गरौं, आफ्नो भविष्य सुनिश्चित गरौं भन्ने नाराका साथ सहकारीले साधारण सभा सम्पन्न गरेको हो । जीवनमा लिनु के छ र दिनु नै हो भन्ने शादा जीवन उच्च विचारका धनी, समाजसेवी तथा शिक्षा पे्रमी सुरेन्द्र खड्कालाई कार्यक्रमको प्रमुख अतिथि बनाईएको थियो । खड्काले आफुले उमेरमा शिक्षा दिने काम बाहेक अन्य काम नगरेको र जीवनको उताद्धमा पनि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले गरिब विपन्न व्यक्तिले शिक्षा लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफुले चन्द्रागिरि नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा छात्राबृद्धि कोष खडा गरेको जानकारी दिनुभयो । उहाँले सहकारी क्षेत्रमा रकम बचत गर्दा इमान्दार र सक्षम व्यक्तिले संचालन गरेको संघसंस्थामा मात्र कारोबार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सास्त्रीय संगीत क्षेत्रका धरोहर चन्द्रागिरि नगरपालिका–४ निवासी इन्दिरा संगीत महाविद्यालयका शिक्षक धनबहादुर गोपालीले कुनै पनि व्यक्ति निरन्तर एउटै विषयमा लाग्दा विषय विज्ञता हासिल गर्ने र उसले परिणाम निकाल्नेमा संकोच गर्नु नपर्ने बताउनु भयो । उहाँले आफुले पनि केही समय पहिले सहकारी क्षेत्रमा लागेको र अध्ययन र अनुभवको विधा फरक भएपछि सहकारी छोडि संगीत पेशालामा लागेको स्मरण गराउनु भयो । उहाँले सहकारीमा पैसा राख्नु अघि संचालकहरुको गतिविधिको निगरानी गर्नुपर्ने बताउनु भयो । अहिले ठूला सहकारीहरु बचतकर्ताको रकम लिई भागेको अवस्थामा बचतकर्ताहरु केही ब्याजको लोभमा नपर्न आग्रह गर्नुभयो ।

सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद खड्गीले सहकारी वा अन्य कुनै पनि संघसंस्थाले कुनै पनि कार्यक्रममा नेता, मन्त्री ल्याउने होडबाजी हुने गरेको भन्दै त्यसलाई प्रवृत्तिलाई छोड्दै समाजका प्रतिष्ठित व्यक्तित्वलाई प्रमुख अतिथि बनाएर कार्यक्रमको शोभाको रुपमा उभ्याएको बताउनु भयो । उहाँले एकका लागि सबै, सबैका लागि एक भन्ने सहकारीको नीति अनुसार आफुहरुले सहकारीलाई संचालन गरेको र सदस्यहरुको समस्या नै संस्थाको प्रमुख समस्या भएको बताउनु भयो । यदि सदस्यहरु नहुने हो भने पानी विनाको माच्छा र हावा विनाको जीव सरह सहकारीको अस्तित्व नहुने उल्लेख गर्नुभयो । उहाँले अहिले सदस्यहरुलाई औषधि उपचार खर्च, सुत्केरी खर्च, समवेदना खर्च, ऋणमा विमा, सदस्यहरुको वीमालगायतको सेवा सुविधा सहकारीले दिइरहेको बताउनु भयो ।

कार्यक्रममा २०७९ सालमा सहकारीका उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो । जसमा ऋण र बचतकर्ता, बाल बचतकर्ता, नियमित बचतकर्ता, उत्कृष्ट कृषि कर्जा, घरायसी ऋण, व्यवसायिक ऋण, हायरपर्चेज गरी १२ जनालाई सदस्यलाई खादा, प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो ।

आर्थिक वर्ष ०७९-०८० मा सहकारीको ५३ करोड ६६ लाख ४३ हजार ८ सय ८९ रुपैयाँ २४ पैसा कूल सम्पत्ति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय