काठमाडौं । नागढुङ्गा सुरुङ मार्गका पीडितलाई तत्काल स्थानान्तरण गरिने भएको छ ।चन्द्रागिरि नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सुरुङ मार्गको पूर्वी भागमा जमीन भासिएपछि प्रभावित घरलाई स्थानान्तरण गर्ने, तत्कालका लागि घरभाडा उपलब्ध गराउने, मुआब्जा र अन्य विषयमा पूर्ण भौगोलिक सर्वेक्षण प्रतिबेदन पछि थप निर्णय गरिने भएको छ ।

नगरप्रमुख घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले तत्काल प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न पहिलो चरणमा मासिक २० हजार देखि २५ हजारसम्म घर भाडा उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको हो ।

OURNEWSCREW ले सुरुङ मार्गको पूर्वपट्टीको माथिल्लो बस्ति रहेको भागमा भासिएको भनि स्थलगत रिपोर्टिङ गरेका थियौं । दबिएका र दबाइएका पीडितहरुको आवाज बुलन्द गर्न हाम्रो टीमले सशक्त भूमिका निर्वाह गरेसँगै बागमती प्रदेश सरकार र चन्द्रागिरि नगरपालिकाको चासो चुलिएको हो ।

(हेर्नुहोस् फिल्ड रिपोर्ट)

नागढुंगा सिस्नेखोला सुरुङमार्ग नजिकैको जमीन भासियो, बस्ति जोखिममा (भिडियो रिर्पोट)

स्थलगत रिपोर्टिङ भएसँगै बागमती प्रदेश सभा सदस्य रमा आले मगर र नगरका प्रमुख घनश्याम गिरीसहितको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री प्रकाश ज्वालसहितको टीमसँग बसी पीडितहरुको पक्षमा छलफल भएको थियो । उक्त छलफलमा सुरुङ मार्ग प्रभावित क्षेत्रमा यथाशीघ्र भौगोलिक सर्वेक्षण गर्ने सहमति समेत भएको छ ।

यसै परिपेक्षमा चन्द्रागिरि नगरपालिकाको विपद् व्यवस्थापन समितिले उक्त क्षेत्र जोखिममा रहेको निष्कर्ष निकाल्दै बस्ती स्थानान्तरण गर्ने निर्णय गरेको हो । गत भाद्र १६ गते प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनतासँग विशेष रुपान्तरण अभियानको सुरुवात चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा गर्दै गर्दा आयोजनाका पीडितहरुले आफ्ना माग सम्बोधन हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । प्रधानमन्त्रीले उद्घाटन स्थलबाटै आयोजना प्रमुखलाई एक हप्ता भित्र सुझावसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको थियो । यद्यपी उक्त प्रतिवेदनले आजका दिनसम्म पीडितहरुको मागलाई सम्बोधन गर्न सकेको छैन । असोज १९ गते सुरुङ मार्गको मुखको केही मिटर माथिको जमीन भासिएपछि OURNEWSCREW ले पीडितको आवाजलाई बुलन्दका साथ उठाएको थियो । सोही समाचारको प्रभावस्वरुप नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले यहाँको बस्ति स्थानान्तरण गर्ने निर्णय गरेको हो । यस क्षेत्रमा ११ घर परिवार बसोबास गर्दै आएका छन् ।

बैठकमा गिरीले आयोजनाले ३ महिना भित्र बिस्तृत भौगोलिक सर्वेक्षण प्रतिबेदन उपलब्ध गराए पछि प्रभावित क्षेत्र घोषणा लगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने बताउनु भयो । बैठकमा नगर प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न विषयगत समितिका संयोजकहरु, सुरक्षा संयन्त्रका प्रतिनिधिहरु, बिपद् ब्यबस्थापन शाखा प्रमुख तथा समितिका सदस्यहरु, संघर्ष समितिका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, निर्माण आयोजनाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय