नेपाली समाजमा भव्यताका साथ मनाईने महान् पर्व बडा दशैंको छैठौं दिन शक्ति स्वरुपा भवानी माता कात्यायनीको पूजाआजा गरिंदै छ ।
माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । राजर्षि जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् ।



माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।
देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । देवी कात्यायनीको पूजाआराधनाका लागि आज देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तहरुको उपस्थिति रहेको छ ।
कात्यायनी : आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गर्ने गरिन्छ । यस क्रममा जपिने मन्त्र
चन्द्रहासोज्जवलकरा शार्दूलावरवाहना ।
कात्यायनी शूभं दद्यादेवी दानवद्यातिनी ।।
यसको अर्थ देवी कात्यायनीको रंग सुन जस्तै चम्किलो हो । यीनको चार वटा हात रहेका छन् । दायाँको माथिल्लो हातमा अभय मुद्रामा छिन् र तल्लो हातमा वर मुद्रा रहेको छ । बायाँको माथिल्लो हातमा तलवार रहेको छ भने तल्लो हातमा कमलको फूल रहेको छ ।
आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैठौं दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। जस अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ।
देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिएको तथा उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेपछि उनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ। बडादशैंको अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।



