आज फूलपाती बडादशैं आज घर घरमा फूलपाती भित्र्याएर मनाइदैछ । घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पुजाआजा गरिएको दशैंघर अथवा पुजाकोठामा शुभसाइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत फुलपातीका रुपमा भित्र्याउने गरिन्छ ।
नौ पातमा क्रमशः बहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामु्ण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पुजा पनि गरिन्छ । गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै फूलपाती आजै काठमाडौँको जमलसम्म ल्याउने गरिन्छ । गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, आशगुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, र सास्कृतिक नाचगानसहितको लावालस्करले गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदैं काठमाडौंको जमलसम्म ल्याउने विधिपूर्वक फुलपातीलाई हर्षबढाइका साथ हनुमानढोकामा भित्र्याउने गरिन्छ ।



आजै देवी दुर्गाको सातौं स्वरुप कालरात्रीको विशेष पुजा उपासना गर्ने चलन छ ।आज विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानीको समेत पूजा गर्ने प्रचलन छ भने कृषकहरुले खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने चलन छ ।।



