काठमाडौं । यमपन्चकको दोस्रो दिन बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ । पञ्चाङ्ग निर्णायक विकास समितिले १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि भएकोले औँसी तिथि लाग्ने हुँदा आजै बेलुका लक्ष्मीपूजा पनि भएको जनाएको छ । बिहान चतुर्दशी तिथि रहेकाले कुकुरको पूजा गरिएको हो ।

कुकुरलाई मनपर्ने खाना खुवाइ विधिवत पुजा गरी माला लगाइदिएर कुकुर तिहार मनाइँदैछ । हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन, आज घरघरमा सुरक्षा दिने साथी कुकुरको पूजा गरी मीठा–मीठा खानेकुरा दिएर कुकुर तिहार मनाइँदैछ । हाम्रो समाजमा कुकुरसम्बन्धी विभिन्न धार्मिक एवम् सामाजिक मान्यता छन् । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नाम गरेका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास छ । धर्मशास्त्रमा धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत कुकुरले साथ दिएको उल्लेख छ । कुकुर आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावर हो । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भन्ने जनविश्वास पनि छ । त्यसैले पछिल्लो समय कुकुर पाल्नेको सख्या बढेको छ । कुकुर आज्ञापालक, रक्षक मात्रै नभइ अपराध अनुसन्धान, घरको रेखदेखमा पनि मान्छेलाई कुकुरले सहयोग गरिरहेको हुन्छ । कुकुर तिहारमा कुकुरलाई सफा सुग्घर पारेर उसको रुचिका खाना खुवाइ विधिवत पुजा गरी माला लगाइन्छ ।

लक्ष्मी पूजा

आज बेलुका घरघरमा देवी लक्ष्मीको पूजा आराधना गरिंदै छ । तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाको भलो होस् भनी भगवान् विष्णुले घरघरमा भलो गीत गाउन लगाएको सम्झनामा आज भैलो खेल्ने समेत गरिएको धार्मिम ग्रन्थहरुमा उल्लेख छ ।

लक्ष्मीपूजाका दिन बत्ती नबालेको घरमा देवी लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज घरको चारैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौंसी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भन्ने प्रचलन छ ।

साँझ घरको मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने प्रचलन छ । लक्ष्मीपूजाका दिन साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गरिन्छ । लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहिआएको छ ।

लक्ष्मी पूजाको दिन साँझ महिलाहरुले समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाको भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको धर्मिम ग्रन्थहरुमा उल्लेख छ ।लक्ष्मी पूजाको दिन भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले यस्तो दान दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय