

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०८० सुरु भएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा शुरु भएको मेला मंसिर १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ । ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवं पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ मंसिर १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
मेलामा औद्योगिक प्रविधि, रेष्टुरेण्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहेका छन् । मेलाको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद एवम् नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले निकै दुःख र परिश्रम गरेर ल्याएको संविधान कार्यान्वयन गर्न नसकिएको बताए । उनले राष्ट्रिय कोष र करबाट अहिले कर्मचारी, सुरक्षा निकाय र तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको उल्लेख गरे ।






उनले यथास्थितिमा देशले गति लिन नसक्ने दाबी पनि गरे । प्रदर्शनीले कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादनका साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।