

बैतडीको दोगडाकेदारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार–३ गाउँपालिका–८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका छन् । विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीप आज दोगडाकेदार–३ घोडेधार नजिकै दुर्घटनामा परेको हो ।
कच्ची र उकालो नचढ्दा ब्याक भएर दुर्घटनामा परेको बताइएको छ । यस्तै दुर्घटनामा परी कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, चार वर्षीय रियाग विष्ट, सात वर्षीया सुशीला विष्ट र ६० वर्षीय पद्म विष्ट घाइते भएका छन् । घाइतेमध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।





