काठमाडौं । छठको मुख्य दिन आज जलाशय किनारमा ब्रत, पूजा र कीर्तन गरी मनाइँदैछ । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिई रातभर जाग्राम बसी भोलि बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
छठमा ब्रत बसी सूर्यको उपासना गर्दा सुख–समृद्धि र मनोकामना पूर्ण हुने जनविश्वास छ । भगवान सूर्यको पूजा गर्ने ब्रतालुले कात्तिक शुक्ल चतुर्थी तिथिमा शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरवा अरुवाइन खाने गर्दछन् । सूर्यलाई अर्घ्य अर्पण गर्ने ब्रतालुले पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर बेलुका नयाँ माटोको चुल्हो बनाई खीर पकाइन्छ । आफुले मान्दै आएको देवीदेवतालाई चढाइ प्रसादका रुपमा अरुलाई दिई र आफुपनि खीर ग्रहण गरिन्छ । यस विधिलाई खरना भनिन्छ ।
कात्तिक शुक्ल चतुर्थी तिथिमा सुरु भएको छठ षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ ।



केही वर्ष अगाडिसम्म मिथिलाञ्चलमा मात्र सीमित छठ पर्व अहिले देशकै पर्व बनेको छ । त्यसैले यो पर्व काठमाडौं र पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । कतिपय ठाउँमा मुस्लिम समुदाय पनि यो पर्वमा सहभागी हुन थालेका पाइन्छ ।



