नेपाल प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरेको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । बुधवार पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असोज १९ गतेदेखि हालसम्म सो प्रकरणमा ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाइएको जनाएको छ । नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश जाने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्स्का २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन् । प्रहरीले आज मात्रै थप ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।
पक्राउ पर्नेमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् । त्यस्तै एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे, अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल रहेको प्रहरीले जनाएको छ ।



कागजात मिलाए बापत ट्राभल्सहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेको र अध्यागमन विभागका कर्मचारीले नयाँको हकमा ५५ हजार र पुरानाको हकमा ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।



