प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गरेका छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत शनिवार काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरुले काम गरिरहेको बताएका हुन् । उनले सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका समस्या समाधानका लागि चाँडै नै नयाँ ऐन जारी गर्न लागेको पनि बताए । प्रधानमन्त्री दाहालले नयाँ ऐन आएसँगै लालपूर्जा वितरणको एउटा नयाँ अभियान शुरु हुने दाबी पनि गरे ।
प्रधानमन्त्री दाहालले देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारका लागि इमान्दारितापूर्वक लड्ने पार्टी माओवादी मात्रै भएको दाबी पनि गरे ।






