चितवन- चितवनको सौराहामा शुरु भएको १७औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ । मंगलबार शुरु भएको पाँच दिने महोत्सव रत्ननगर नगरपालिका–७ मैनाहाको चित्रसारी पुलनजिक चौरमा जारी छ । हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल संघले जनाएको छ ।
प्रतियोगितामा सात वटा हात्ती सहभागी हुँदैछन् । आज हात्ती शृङ्गार प्रतियोगिता, भोलि राप्ती नदीमा डुङ्गा दौड, पर्सि शुक्रवार हात्तीको वनभोज र शनिवार समापनको कार्यक्रम छ । कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपालि फेरि शुरु भएको हो ।






